प्रहरी भएको नाटक गरी नगद लुटपाट गर्ने समूहका दुई जना पक्राउ
विराटनगर। प्रहरी भएको भन्दै सर्वसाधारणलाई बन्धक बनाई नगद लुटपाट गर्ने समूहका दुई जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।
उनीहरूले गत असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई लुटपाट गरेका थिए । साह बैंकमा जम्मा गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो । रातो रङको स्कुटरमा आएका तीन जनाले रानीस्थित राइस मिल नजिक सिटी सफारीमा यात्रा गरिरहेका साहलाई रोकेर आफूहरू मोरङ जिल्ला प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली भएको भन्दै नियन्त्रणमा लिएका थिए ।
त्यसपछि उनीहरूले साहलाई जबरजस्ती विराटनगर–१४ स्थित एकान्त स्थानमा लगेर धम्क्याउँदै साथमा रहेको सम्पूर्ण नगद लुटेर फरार भएका थिए ।
उजुरीको आधारमा अनुसन्धान थालेको प्रहरीले को १४ प ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा मोरङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले घटनामा संलग्न तेस्रो व्यक्तिको पहिचान गरी खोजी कार्य जारी राखेको जनाएको छ ।