देशभर मनसुनी प्रभाव कायमै, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ सरि पश्चिम नेपालको केही नजिक रहेकाले वर्षाको प्रभाव अझ तीव्र हुने देखिएको हो।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसबाहेक, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रहँदा बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेकामा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भइरहेको जनाइएको छ।

महाशाखाले विपद् जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

Add a Comment