युके पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने पक्राउ
विराटनगर । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई प्रहरीले बुधबार ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको हो।
रिसालले युके पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान थालिएको थियो।
उनीविरुद्ध परेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रिसाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगी घटनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।