सिरहाको गोलबजारमा किशोरीद्वारा युवकमाथि छुरा प्रहार, दुबै घाइते

विराटनगर । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेको भनिएकी एक किशोरीले युवकमाथि छुरा प्रहार गरेकी छिन्। छुरा प्रहारबाट घाइते भएका युवकको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोलबजार नगरपालिका–१३ दुर्गापुर घर भई गोलबजार–४ मा डेरा गरी बस्दै आएका करिब २४ वर्षीय अशोककुमार महतोको घाँटीमा छुरा प्रहार भएको हो।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्रकुमार पासवानका अनुसार किशोरी छुरा प्रहार गरेपछि भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। त्यसक्रममा घाइते भएकी करिब १७ वर्षीया किशोरीको जिल्ला सदरमुकाम सिरहास्थित प्रादेशिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

‘छुरा प्रहार किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी पासवानले बताए, ‘दुवैको स्वास्थ्य परीक्षण गरिनेछ। जाहेरी परेपछि सोही अनुसार मुद्दा दर्ता गरिनेछ।’

स्थानीयका अनुसार ती किशोरी पछिल्ला केही दिनदेखि पटक–पटक अशोककुमारको डेरामा जाँदै आएको देखिएको थियो। बिहीबार अपराह्न पनि किशोरी डेरामा पुगेकी थिइन्। सो क्रममा विवाद भएपछि कोठामा रहेको छुरा प्रहार भएको बताइएको छ।

स्थानीयले नियन्त्रणमा लिएपछि किशोरीले आफूलाई जबरजस्ती गर्न खोजेपछि आत्मरक्षार्थ छुरा प्रहार गरेको दाबी गरेकी छन्। तर घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।