बैंकमा रकम जम्मा गर्न जाँदै गरेका युवकसँग डकैती गर्ने गिरोह पक्राउ

विराटनगर। मोरङको विराटनगरमा एक युवकसँग डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१५ निवासी २० वर्षीय बिक्रम कुमार साह तेलीलाई बैंकमा जम्मा गर्न लिइएको रु. ३ लाख ६४ हजार रकम लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

घटना मिति २०८२ असार ११ गते बिहान ११:१५ बजेको हो। बिक्रम कुमार साह बैंकतर्फ जानका लागि सिटी सफारी चढेर रानीको ऐ.ऐ. १३ स्थित राइस मिल नजिक पुगेका बेला रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिहरूले आफूलाई प्रहरीको परिचय दिँदै सिटी सफारी रोकेर जबरजस्ती उनलाई स्कुटरमा राखेर एकान्त स्थानमा लगेका थिए। पीडितका अनुसार, उनीहरू तीनै जनाले उनलाई विराटनगर–१४ जतुवा स्थित सुनसान स्थानमा लगेर डरत्रास देखाई साथमा रहेको रकम लुटी फरार भएका थिए।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा मिति २०८२ असार १५ गते घटनामा प्रयोग गरिएको को. १४ प ३३३० नम्बरको स्कुटरसहित दुई अभियुक्त पक्राउ परेका हुन्। पक्राउ परेमा विराटनगर वडा नं ८ का २४ वर्षिय समिर हुसेन र वडा नं ६ का २७ वर्षिय आशिफ अन्सारी रहेका छन्।

पीडितबाट सनाखत गरिएपछि उनीहरूलाई शारीरिक रूपमा नियन्त्रणमा लिएर डकैतीको मुद्धामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

अनुसन्धानको क्रममा थप संलग्न रहेको एक अभियुक्तलाई मिति २०८२ असार १८ गते पक्राउ गरिएको छ। पक्राउ पर्नेमा विराटनगर वडा नं ११ का २५ वर्षिय कुशल पाण्डे रहेका छन्।
उनको साथबाट रु. १ लाख ५० हजार नगद रकम, डकैतीको समयमा प्रयोग गरिएको कालो ट्रयाकसुट र ट्राउजर बरामद गरिएको छ।

प्रहरीका अनुसार कुशल पाण्डे यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रही मुद्धा दर्ता भइसकेका छन्। उनीविरुद्ध रानी इप्रकामा मन्जु तामाङको जाहेरीमा ज्यान मार्ने उद्योग मुद्धा, जिल्ला प्रहरी कार्यालय मोरङमा स्माइल साफीविरुद्ध ज्यान मार्ने उद्योग र प्रवेज आलमविरुद्ध अभद्र व्यवहारको मुद्धा दर्ता भएको उल्लेख छ।

Add a Comment