रानीबाट स्रोत नखुलेको नगदसहित विराटनगरका एक जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरको रानी क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–६ निवासी ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्।

आइतबार पुस १३ गते बिहान करिब ११:३० बजे इलाका प्रहरी कार्यालय रानी तथा रानी (सीमा)बाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ हुण्डीमार्फत अवैध रकम कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रदेश नं. १–०४–००१ च ०१६४ नम्बरको सेतो कारलाई निगरानीमा राखिएको थियो। सो कार रानी–विराटनगर सडकखण्ड हुँदै विराटनगरतर्फ आउँदै गरेको अवस्थामा सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोल पम्प) अगाडि रोकी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा अग्रवालले लुकाइछिपाइ राखेको नेपाली नगद बरामद गरिएको थियो। बरामद रकममा एक हजार दरका ४ सय थान, पाँच सय दरका ३ सय ६० थान र एक सय दरका २ सय थान गरी जम्मा ६ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अग्रवाललाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

Add a Comment