‘मेरी बास्सै’की ‘अप्सरा आमा’ लक्ष्मी श्रेष्ठको निधन, कलाकारिता क्षेत्रमा शोक

विराटनगर। लोकप्रिय हास्य सिरियल ‘मेरी बास्सै’ मार्फत ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ अत्यन्त प्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी श्रेष्ठको शुक्रबार राति काठमाडौंको कपनस्थित निवासमा निधन भएको हो।

श्रेष्ठको अन्त्येष्टि शनिबार बिहान पशुपति आर्यघाटमा पारिवारिक र सांस्कृतिक विधिअनुसार सम्पन्न हुने परिवारले जानकारी दिएको छ।

श्रेष्ठ स्तन क्यान्सरसहित अन्य स्वास्थ्य समस्याबाट पीडित थिइन्। दशैंपछि स्वास्थ्य बिग्रँदै गएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएकी उनलाई चार महिनाअघि घर फर्काइएको थियो, उपचार सम्भव नभएको भन्दै। त्यसयता उनी कपन बालुवाखानीस्थित घरमै ओछ्यानमा थलिएकी थिइन्।

कलाकार सुशीला निरौला (विमली) का अनुसार, लक्ष्मी श्रेष्ठलाई अन्तिम अवस्थामा आफूले काम गरेका कलाकारहरूसँग भेट्ने तीव्र इच्छा थियो। सोही अनुरूप सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), राजाराम पौडेल, रवी डंगोल, सुरवीर पण्डित लगायतका कलाकारहरूले उनलाई भेट्न घरमै पुगेका थिए।

श्रेष्ठले ‘मेरी बास्सै’ मा ‘खड्काजी’ (सीताराम कट्टेल) की श्रीमती ‘अप्सरा’ को छुच्चो, व्यंग्यात्मक तर हँसाउने भूमिकामा अभिनय गरेकी थिइन्। खड्काजी–अप्सराको जोडी नेपाली टेलिभिजन इतिहासमै एक लोकप्रिय जोडीमध्ये पर्छ।

लामो समयदेखि कलाकारितामा क्रियाशील रहेकी उनले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता चर्चित टेलिशृंखलामा अभिनय गर्नुका साथै थुप्रै चलचित्र, म्युजिक भिडियो र नाटकहरूमा आफ्नो उपस्थिति जनाएकी थिइन्। उनी शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा पनि देखिएकी थिइन्।

लक्ष्मी श्रेष्ठको निधनले नेपाली हास्य तथा अभिनय क्षेत्रले एक समर्पित, प्रतिभाशाली र मनछुने कलाकार गुमाएको छ। उनको सम्झना सदैव दर्शक र सहकर्मी कलाकारको मनमा जीवित रहनेछ।

Add a Comment