विराटनगरमा महिलामाथि एसिड प्रहार, घाइतेको अवस्था खतरामुक्त

विराटनगर । विराटनगर महानगरपालिका–९ मा सोमबार भएको एक घटनामा एक महिलामाथि देवरले एसिड प्रहार गरेका छन्।

स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले आफ्नी २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि बियरको बोतलमा ल्याइएको एसिड प्रहार गरेका हुन्। प्रहरीका अनुसार घटना दाजु घरमा नभएको समयमा भएको हो।

अनुहारमा एसिड प्रहार रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा समेत एसिड लागेको छ भने उनले लगाएको सल पनि जलेको प्रहरीले जनाएको छ।

घाइते महिलाको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घरायसी तथा लेनदेन विवादका कारण घटना भएको देखिएको छ।

मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अभियुक्त श्रवण साहको खोजी तीव्र पारिएको छ।

Add a Comment