ननग्रेडेड नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह — उपप्रमुख डंगोल

विराटनगर । काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड (NG) भएपछि गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई त्यसको कारण खोज्न आग्रह गरेको छ।

कामपाका उपप्रमुख सुनिता डंगोलले तीन वर्षदेखि अपेक्षित नतिजा नआएका तथा यो वर्ष ५० प्रतिशतभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गर्दै उनीहरूलाई नेतृत्वदायी भूमिकामा उत्तरदायी बन्न सुझाव दिएकी हुन्।

“साझेदारहरू एउटै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्न सक्नुपर्छ,” डंगोलले भनिन्, “अबको एक महिना ननग्रेडेड विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधारका लागि प्रयत्न गरौँ। त्यसपछि समस्याको गहिरो विश्लेषण गरेर आगामी योजना तय गरौँ।”

छलफलका क्रममा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले ननग्रेडेड नतिजाका पछाडि शिक्षक–विद्यार्थी सम्बन्ध कमजोर हुनु, विद्यार्थीको घरायसी अवस्था प्रतिकूल हुनु, उनीहरू श्रम क्षेत्रमा संलग्न हुनु, अभिभावकको कमजोर निगरानी जस्ता कारक तत्व रहेको बताए।

विद्यालयका प्रधानाध्यापकहरूले भने नतिजा सुधारका लागि आउँदो एक महिनासम्म अतिरिक्त कक्षा सञ्चालन गर्ने, विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्ने लगायतका उपायमार्फत सुधारको प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७८ सालको एसईईमा कामपाका ५८ सामुदायिक विद्यालयबाट ४,०५६ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९५६ जना विद्यार्थी ननग्रेडेड (NG) भएर पुनः परीक्षा दिनुपर्ने भएको छ।

उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन्, जसमध्ये १७ जनाले पूर्ण ४.०० जीपीए प्राप्त गरेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा २४४ जना बढी हो, गत वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए।

कामपाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नेतृत्व, व्यवस्थापन र सहकार्यमा केन्द्रित हुँदै थप कार्यक्रम ल्याउने संकेत दिएको छ।

Add a Comment