सन्दीप लामिछाने पुनः विराटनगर किङ्ग्समा, एनपीएल दोस्रो संस्करणमा मार्की खेलाडीको रूपमा खेल्ने
विराटनगर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्ग्सबाटै खेल्ने भएका छन्।
विराटनगर किङ्ग्सले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई मार्की खेलाडीका रूपमा रिटेन गरिएको जानकारी गराएको हो। पहिलो सिजनमा सन्दीपले विराटनगर किङ्ग्सको कप्तानी समेत सम्हालेका थिए।
एनपीएलको पहिलो संस्करणमा विराटनगरको प्रदर्शन खासै प्रभावशाली रहेको थिएन। टोलीले ७ खेलमध्ये २ खेलमा मात्र जित हात पार्दै ८ टिममध्ये सातौं स्थानमा सन्तोष मान्नु परेको थियो।
गत सिजन विराटनगरका लागि लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी र नरेन भट्टले खेल खेलेका थिए।
एनपीएलको दोस्रो संस्करणका लागि मिनी अक्सन आउँदो अगस्टमा हुने तय भएको आयोजकले जनाएको छ। यसपटकको संस्करणमा विराटनगर किङ्ग्स सन्दीपको कप्तानी र अनुभवको भरमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा देखिएको छ।