देशमा सुधारको सम्भावना अझै बाँकी: महामन्त्री गगन थापा
विराटनगर। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही सकारात्मक काम भए पनि अझै धेरै सुधारको खाँचो रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विद्यार्थीलाई देशको अवस्था न त अत्यधिक नकारात्मक न त अत्यधिक सकारात्मक रूपमा बुझ्न आग्रह गरे। उनले वर्तमान अवस्थालाई तटस्थ र विवेकपूर्ण ढंगले विश्लेषण गर्न विद्यार्थीलाई सुझाव दिए।
“कसैले यो देशमा खतरा भयो भनेर पनि नपत्याउनुस्, र कसैले देश बर्बाद भयो भनेर पनि नपत्याउनुस्। देशमा केही राम्रो भएको छ, केही गर्न सकिएको छैन,” थापाले भने।
उनले राम्रो कार्यका लागि धन्यवाद दिन र अझै गर्न बाँकी कामको जिम्मेवारी लिन आग्रह गरे। “राम्रो भएकोमा धन्यवाद भन्नुस्, तर गर्नुपर्ने जति किन भएन भनेर प्रश्न पनि गर्नुस्,” उनले भने।
थापाले विद्यार्थीलाई अध्ययन गरेर मात्र समर्थन वा विरोध गर्न, नयाँ कुरा सिक्न, आलोचना गर्न र सकारात्मक सोच राख्न प्रेरित गरे। “नथाक्नुस्, नभाग्नुस्, अडिएर बस्नुस्। क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस्,” उनको आग्रह थियो।
महामन्त्री थापाको भनाइ अनुसार देश निर्माणको जिम्मेवारी सरकार मात्रको नभई प्रत्येक सचेत नागरिकको पनि हो।