छ महिनामै ७ अर्ब ४१ करोड आम्दानी गर्दै बुद्ध एयरले राख्यो बलियो वित्तीय प्रदर्शन
विराटनगर। नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको बुद्ध एयरले सन् २०२५ को पहिलो छ महिनामा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। स्थापनाको करिब तीन दशकपछि समेत उस्तै गति कायम राख्दै कम्पनीले लगातार आम्दानी वृद्धि गर्दै आएको देखिएको छ।
बुद्ध एयरले सन् २०२४ मा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन सन् २०२३ को तुलनामा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँले बढी हो। यो तथ्याङ्क क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको हो।
कम्पनीले ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर बराबरको कर्जाका लागि रेटिङ गराएको छ। कोरोना महामारीका बेला पनि अन्य प्रतिस्पर्धीको तुलनामा सुदृढ वित्तीय अवस्था कायम राख्न सफल बुद्ध एयर महामारीपछि सामान्य अवस्थामा पूर्णरूपमा फर्किएको देखिन्छ।
पछिल्ला केही वर्षको वित्तीय विवरण हेर्दा, कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख, र सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो।
बुद्ध एयर हाल १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत देशका प्रमुख सहरहरू—जस्तै काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, र भद्रपुर—मा नियमित उडान सेवा दिँदै आएको छ। विसं २०५३ मा स्थापना भएको यो कम्पनीले भारतका कोलकाता र वाराणसीसम्म अन्तर्राष्ट्रिय सेवा पनि सञ्चालन गर्दै आएको छ।
कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको नेतृत्वमा बुद्ध एयरले सञ्चालन आम्दानी, नाफा, र कर्जासम्बन्धी सूचकहरूमा पछिल्लो पाँच वर्षमा उल्लेखनीय सुधार गरेको देखिएको छ।