मनाङमा एक साताका लागि अन्नपूर्ण पदमार्गमा पदयात्रा रोक
विराटनगर । जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गतको पदयात्रा एक साताका लागि रोक लगाएको छ।
हिमपात रोकिए पनि हिमपहिरो आउने जोखिम कायम रहेको कारण प्रशासनले पदयात्रीहरूलाई अर्को सूचना नआएसम्म पदयात्रामा नजान आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिउँले ढाकिएको सडक डोजर प्रयोग गरी पन्छ्याएपछि सडक आवागमन सहज बनेको छ तर पदयात्रा मार्ग अझै जोखिमपूर्ण छ। उनले भने, “सोमबार रातिदेखिको हिमपातले सडक अवरुद्ध भएको थियो। अहिले खाङसारसम्म बाटो खुलेको छ, तर पदयात्रा गर्न अझै सुरक्षित छैन।”
उनका अनुसार हिउँ र पानी पर्न बन्द भए पनि पहिरो खस्ने जोखिम कायम भएकाले पदयात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै निर्णय गरिएको हो।
यसअघि मंगलबार करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको थियो, जसमा करिब २०० जना विदेशी पर्यटक रहेका थिए। हिमपातका कारण तिलिचो आधारशिविरतर्फ गएका करिब ४०० पर्यटकले तिलिचो पुग्न नसकी फर्किनुपरेको थियो।

 
																							 
																							