सांसद अमरेशकुमार सिंहद्वारा आम्दानी नहुने क्षेत्रमा लगानी नगर्न आग्रह, भैरहवा–पोखरा विमानस्थलको छानबिनको माग
विराटनगर । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा लगानी गर्नु अनुचित भएको बताएका छन्। सिंहदरबारमा आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने स्थानमा लगानी गर्नु उपयुक्त नहुने स्पष्ट पारे।
सांसद सिंहले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भए पनि ती विमानस्थल प्रयोगमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, “जनसंख्याको घनत्व अनुसार पूर्वाधार विकास गर्न जरुरी छ, प्रयोग नहुने ठाउँमा संरचना निर्माण गर्नु स्रोतको दुरुपयोग हो।”
उनले भैरहवा र पोखरा विमानस्थलमा अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन गर्न माग गरे। वैदेशिक ऋण लिई भ्रष्टाचारको माध्यम बनाउने प्रवृत्ति तत्काल रोक्नुपर्ने उनको भनाइ थियो।
सांसद सिंहले नागरिकको चाप बढी हुने ठाउँमा संरचना निर्माण गर्दा ती पूर्वाधारको सदुपयोग हुने भएकाले योजना बनाउँदा त्यसतर्फ ध्यान दिन सुझाव दिए।