स्वस्थ्य जीवनका लागि खानपानमा ध्यान दिन स्वास्थ्य मन्त्री राईको सुझाव

विराटनगर। कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्वस्थ जीवनशैली कायम गर्न खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित “स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाका लागि आयोजित पैरवी कार्यक्रम” उद्घाटन गर्दै मन्त्री राईले समाज, प्रदेश तथा राष्ट्रलाई स्वस्थ बनाउने अभियानमा सञ्चारकर्मीहरू सक्रिय बन्नुपर्ने बताए।

उनले भने, “गाउँदेखि शहरसम्म समाचारमार्फत जनचेतना फैलाउने कार्यमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण छ। औषधिमा निर्भर हुनुभन्दा पहिले आहार, व्यायाम र जीवनशैली सुधार गर्नु जरुरी छ।”

सङ्घीयता प्राप्तिपछि तीन तहको सरकार गठन भएपछि औषधि खरीदमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै उनले औषधि खर्चमा नियन्त्रण गरी जनतालाई रोगबाट बचाउने दीर्घकालीन नीति आवश्यक भएको बताए।

उनले कोशी प्रदेश सरकारले ल्याएको “मेरा स्वास्थ्य, मेरो जिम्मेवारी” अभियान कार्यान्वयनमा सञ्चारकर्मीहरूको सहयोग अपरिहार्य रहेको धारणा राखे।

सो अवसरमा मन्त्री राईले खान मिल्ने तथा नमिल्ने खाद्य तथा पेय पदार्थको प्रदर्शनी स्टलको अवलोकन गर्दै जानकारी पनि लिए।

कार्यक्रममा मन्त्रालय अन्तर्गत विभिन्न कार्यालयका स्वास्थ्यकर्मी, निजी तथा आयुर्वेद अस्पतालका चिकित्सक तथा कर्मचारी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य नागरिकमा स्वास्थ्यप्रति जिम्मेवारीबोध गराउने रहेको आयोजकले जनाएको छ।

Add a Comment