देशभर मनसुनी प्रभाव तीव्र, केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर ।देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको अवस्थामा आज मंगलबार देशका केही भूभागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी वायुको प्रभाव तीव्र बनिरहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको प्रभाव सबै प्रदेशमा देखिने महाशाखाको भनाइ छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका कतिपय स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले पहिरो, बाढी र डुबानजस्ता सम्भावित विपद्‌प्रति सतर्क रहन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।

Add a Comment