हिम स्टार उर्जा कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुला

विराटनगर । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबरको ९ लाख ३२ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्कासन गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते प्रतिकित्ता रू. १०० अंकित दरमा ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो।

आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखाहरूबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर मार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो आईपीओ छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेड ले लिएको छ।

हिम स्टार उर्जा कम्पनी जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी हो, जसले आईपीओमार्फत आम सर्वसाधारणलाई आफ्नो स्वामित्वमा सहभागी गराउँदै आगामी परियोजनाहरूमा जनसहभागिता विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

Add a Comment