लुइजियानामा सवारी दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु, दुई घाइते

विराटनगर। जुलाई १३, २०२५ मा राति करिब ९ बजे लुइजियाना राज्यको हाइवे ८० मा भएको एकल सवारी दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको ज्यान गएको छ। मृत्यु हुनेमा २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्। दुवै जना नेपालका नागरिक हुन् भने उनीहरूको स्थायी ठेगाना भने खुलाइएको छैन।

दुर्घटना हुँदा यादवले चलाएको २०१० मोडेलको होंडा एकोर्ड कार भारी वर्षाका कारण पूर्वतर्फ गइरहेको अवस्थामा सडकको दाहिने किनारमा गइ रुखमा ठोक्किएको र त्यसपछि गाडीमा आगलागी भएको लुइजियाना स्टेट पुलिस टुप एफले जनाएको छ। दुर्घटनास्थलमै यादव र ओलीको ज्यान गएको पुष्टि गरिएको छ।

गाडीमा सवार अन्य दुई विद्यार्थी गम्भीर घाइते भएका छन् र अहिले अस्पतालमा उपचाररत छन्। उनीहरूको अवस्थाबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान थालेको छ र चालकको रगतको रुटिन परीक्षणका लागि नमुना संकलन गरिएको जनाएको छ।

घटनापछि लुइजियाना टेक विश्वविद्यालय शोकमा डुबेको छ। विश्वविद्यालयका अध्यक्ष डा. जिम हेण्डरसनले जुलाई १४ मा वक्तव्य जारी गर्दै विश्वविद्यालय परिवार शोकाकुल भएको बताएका छन्।

‘शोकको सामना एक्लै गर्नु गाह्रो हुन्छ,’ उनले भने, ‘विद्यार्थीहरूका लागि काउन्सेलिङ सेवा खुल्ला छ। कीनी हल ३३७ मा वाक–इन सेवा उपलब्ध छ भने ३१८–२५७–२४८८ मा फोन गरेर समय लिन सकिन्छ।’

अध्यक्ष हेण्डरसनका अनुसार अन्तर्राष्ट्रिय मामिला कार्यालयले मृतक विद्यार्थीहरूको सम्झनामा स्मृति कार्यक्रमको तयारी गरिरहेको छ।

Add a Comment