धनुषामा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध काजु बरामद

विराटनगर । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित एक चाइनिज इट्टाभट्टाको खाली घरबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद गरिएको छ।

भारतबाट अवैध रूपमा भित्र्याई लुकाइराखिएको अवस्थामा फेला परेको उक्त काजु १३ सय २० केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण, धनुषाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको टोली र जनकपुर भन्सार कार्यालयको संयुक्त अपरेशनमा काजु बरामद गरिएको हो।

बरामद गरिएको काजु उक्त घरमा कहिले र कसले राखेको भन्नेबारे अझै खुल्न सकेको छैन।

सशस्त्र प्रहरीका अनुसार, काजु आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको छ।

नेपाल-भारत सीमावर्ती क्षेत्रमा भइरहने यस्ता अवैध ओसारपसार विरुद्ध सशस्त्र प्रहरी बलको निगरानी अझ कडा बनाइएको बताइएको छ।