प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित बिराटनगर बाट२ जना पक्राऊ

पवन साह
बिराटनगर / प्रहरीले बिराटनगरमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

बुधबार दिउँसो साढे ३ बजे बिराटनगर महानगरपालिका–५ पुलचोकमा गोप्य सूचनाको आधारमा कारबाही गर्दै प्रहरीले BR 50 AD 0227 नम्बरको स्कुटरमा सवार संदिग्ध अवस्थामा गफगर्दै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटेको टोलीले चेकजाँच गर्दा भारतीय नागरिक किष्ण कुमार मेहताले लगाएको ट्राउजरको दाहिने खल्तीभित्र लुकाइछिपाई राखेको खैरो हेरोइन प्लास्टिकसहित ६२ ग्राम २३० मिलिग्राम र प्लास्टिकबाहेक ५३ ग्राम १७० मिलिग्राम बरामद गरेको छ।

प्रहरीले बरामद गरिएका लागुऔषधसहित भारत बिहार राज्य पूर्णिया जिल्ला थाना भवानीपुर पञ्चायत बलिया बस्ने १९ वर्षीय किष्ण कुमार मेहता र सुनसरी देवानगंज गाउँपालिका–२ बस्ने १९ वर्षीय विकाश कुमार यादवलाई पक्राउ गरेको हो।

प्रारम्भिक सोधपुछमा पक्राउ परेका दुवै जनाले उक्त हेरोइन नेपालमा बिक्री गर्ने गरेको बताएका छन्। प्रहरीले निजहरूलाई बरामद लागुऔषध हेरोइन, स्कुटर र २ थान मोबाइलसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ।

Add a Comment