उदयपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
विराटनगर। उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
असार २४ गते साँझ को.३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको टंकी सिनुवारी–२ निवासी ३२ वर्षीय अनिल राजबंशी र पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिङ्ला निवासी १८ वर्षीया तुलशा कार्की घाइते भएका थिए।
दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि बिराट टिचिङ अस्पताल, विराटनगर पठाएको थियो। उपचारको क्रममा चालक अनिल राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घाइते तुलशा कार्कीको अवस्था भने सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।