बङ्गालको खाडीको ‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा र हिमपात, आज साँझदेखि सुधारको संकेत

बिराटनगर। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र त्यससँग सम्बन्धित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भइरहे पनि आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। कोशी, मधेस र बागमती प्रदेशका केही क्षेत्र र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षा र हिमपातका कारण पहिरो, बाढी, यातायात अवरोध र कृषिमा नोक्सानीको सम्भावना भएकाले सर्वसाधारण, किसान तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Add a Comment