बूढीगंगामा अज्ञात युवतीको शव फेला: बलात्कारपछि हत्या गरिएको आशंका
विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा एक युवतीको सडेको अवस्थामा नग्न शव फेला परेको छ। प्रहरीले बलात्कारपछि हत्या गरिएको आशंका गरेको छ।
शनिबार अपरान्ह ४ बजेतिर दुर्गन्धित अवस्थामा फेला परेको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार मृतक युवतीको अनुहार र शरीरका विभिन्न भागहरु कुहिएको अवस्थामा रहेकोले पहिचान गर्न कठिन भएको छ।
शवको प्रकृति र अवस्था हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिए पनि घटनाबारे यकिन प्रमाण नभेटिएको प्रहरीले जनाएको छ। ‘घटनाको पुष्टि गर्न प्रमाण संकलन आवश्यक हुन्छ, त्यसअनुसार अनुसन्धान अगाडि बढिरहेको छ,’ चुँडालले भनिन्।
घटनास्थलमा मृतकले लगाएका पाइन्ट, चिम्टी, चप्पललगायतका सामग्री शवको छेउमै फेला परेका छन्। कम्मरदेखि मुनिको भागमा कपडा नरहेको र शरीरको माथिल्लो भागमा मात्र भित्री वस्त्र भएको अवस्थामा शव भेटिएको हो।
प्रहरी स्रोतका अनुसार मृतक २० वर्षमुनिकी देखिन्छिन् र धेरै टाढाको नभई स्थानीय क्षेत्र वा वरपरको कोठा वा डेरामा बस्ने हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, अहिलेसम्म युवती हराएको भन्ने सूचना वा उजुरी प्रहरीमा आएको छैन।
शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। प्रहरीले हालसम्म पहिचानका लागि विभिन्न प्रयास गर्दै अनुसन्धान तीव्र बनाएको छ। घटनास्थलबाट संकलन गरिएका सामग्रीहरू परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताइएको छ।