नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा ३ दिने चलचित्र कार्यशाला विराटनगरमा सुरु

विराटनगर/ कोशी प्रदेशको राजधानी विराटनगरमा चाँदनी फिल्म्सको आयोजनामा “नेपाली चलचित्रमा साहित्य” विषयक गोष्ठी तथा तीनदिने चलचित्र कार्यशाला आजबाट सुरु भएको छ। कार्यक्रम विराटनगर बसपार्क नजिकैको आरके पार्टी प्यालेसमा भव्य समारोहका साथ उद्घाटन गरिएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी रहेका थिए। मन्त्री भण्डारीले दीप प्रज्वलन गरी गोष्ठी तथा कार्यशालाको औपचारिक सुरुवात गरे। कार्यक्रममा सभापतित्व मधु पोख्रेलले गरेका थिए भने संयोजकको भूमिका चाँदनी फिल्म्सका केशव रायमाझीले निर्वाह गरेका थिए।

उद्घाटन समारोहमा विशिष्ट साहित्यकार तथा चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रह्यो। “नेपाली चलचित्रमा साहित्य” विषयक विचार गोष्ठीमा अग्रज स्रष्टाहरूले नेपाली साहित्य र चलचित्रबीचको सम्बन्ध तथा योगदानबारे आफ्ना महत्त्वपूर्ण विचारहरू प्रस्तुत गरे।

कार्यक्रमको अवसरमा चलचित्र, कला, संस्कृति र नृत्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका चार स्रष्टालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा चलचित्र ‘१२ गाउँ’ का लेखक सन्तोष सरकार, नृत्यकार बबिता भुषाल, नृत्य निर्देशक सम्झना दाहाल र गायक दिनेश राई रहेका छन्।

कार्यक्रममा विविध जातीय नृत्यहरू प्रस्तुत गरिनुका साथै वरिष्ठ गायक रामा मण्डल र नितिन गजुरेलले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे। गोष्ठी तथा कार्यशालाले नेपाली चलचित्रमा साहित्यिक पक्षको सशक्त समावेशीकरणमा सकारात्मक योगदान पुगाउने अपेक्षा गरिएको छ।