काठमाडौं महानगरपालिकाको छात्रवृत्ति कार्यक्रममा देशभरबाट १७ हजारभन्दा बढीको आवेदन, असार ३२ सम्म रुजु, साउन ३ गते परीक्षा
विराटनगर । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममा देशभरबाट १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन्।
महानगरको शिक्षा विभागका अनुसार ७७ वटै जिल्लाबाट आवेदन प्राप्त भएका छन्। विज्ञान विषयमा सबैभन्दा धेरै १२ हजार ३३७ जनाको आवेदन परेको छ। त्यसपछि व्यवस्थापन विषयमा ४ हजार ४८१, कानुन विषयमा २७३, शिक्षा विषयमा १०४ र मानविकी विषयमा ३४ जनाले आवेदन दिएका छन्।
शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार अहिले आवेदनको रुजु प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। रुजु कार्य असार ३२ गतेसम्म सम्पन्न हुने र साउन १ गतेदेखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्।
परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित बहुवैकल्पिक प्रश्न (MCQ) मा आधारित हुनेछ। गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी जम्मा १०० प्रश्न सोधिनेछन्।
उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक अनिवार्य छ। यस परीक्षामा नेगेटिभ मार्किङ लागू नहुने र प्राप्त नतिजाका आधारमा मेरिट सूची तयार गरी छात्रवृत्ति प्रदान गरिने महानगरले जनाएको छ।
महानगर शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ। साथै, यस कार्यक्रमले गुणस्तरीय शिक्षामा पहुँच वृद्धि र विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने उद्देश्य लिएको छ।