धनकुटामा ब्रेक फेल भएर मिनि ट्रक ३०० मिटर तल खस्यो, दुई जना गम्भीर घाइते
विराटनगर । धनकुटामा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। धनकुटा नगरपालिका–९, पाँचगोलाइ नजिक प्र.३–०१–००३क ६९०६ नम्बरको मिनि ट्रक ब्रेक फेल भएर करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको उक्त ट्रक सोमबार बिहान करिब २ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्रक चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–५ का २६ वर्षीय नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटारका २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाट र प्रहरी चौकी मुलघाटका टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो। घाइते दुवै जनालाई बिहान करिब ४:३० बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा पठाइएको डिएसपी थापाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका अनुसार ब्रेक फेल भएर ट्रक सडकबाट अनियन्त्रित भई भीषण खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।