इजरायली आक्रमणबाट इरानमा ४३० भन्दा बढीको मृत्यु, दुई देशबीच प्रतिआक्रमण जारी
विराटनगर । इजरायलको सैन्य आक्रमणबाट इरानमा मृत्यु हुने सर्वसाधारणको संख्या ४३० नाघेको छ। इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियानले शनिबार तेहरानमा आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्। उनले युद्धका कारण कम्तीमा १ हजार ५६ जना इरानी नागरिक घाइते भएको पनि पुष्टि गरेका छन्।
इजरायली सेनाले तेहरान, इस्फहान, कुम, खोरमाबाद लगायतका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। यसक्रममा मिसाइलका डिपो, आणविक केन्द्र तथा आवासीय क्षेत्रसमेत लक्षित गरिएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इस्फहानस्थित आणविक स्थल पनि आक्रमणको निशानामा परेको बताइएको छ तर त्यहाँ कुनै पनि खतरनाक विकिरण चुहावट नदेखिएको अधिकारीहरूले बताएका छन्।
यसैबीच, मानव अधिकार समूह ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’ ले जारी गरेको पछिल्लो प्रतिवेदनमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ६३९ पुगेको दाबी गरिएको छ। उक्त प्रतिवेदन अनुसार १ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन्।
दुई देशबीच हालै भएको तनावको प्रतिक्रिया स्वरूप इरानले पनि इजरायली भूभागतर्फ समन्वित रूपमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। इजरायली अधिकारीका अनुसार इरानको आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ भने २ हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन्।
क्षति थप बढ्न सक्ने आकलन गरिएको छ। दुवै देशबीचको तनाव अझै उच्च रहेको भन्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले शान्तिपूर्ण समाधानको आह्वान गरेका छन्।