फेसबुकद्वारा १ करोड नक्कली अकाउन्ट ब्लक, ‘ओरिजिनल सामग्री’लाई प्राथमिकता
विराटनगर। सोसल मिडिया प्लाटफर्म फेसबुकले २०२५ को पहिलो ६ महिनामा १ करोड नक्कली अकाउन्टहरू ब्लक गरेको छ। फेसबुकको मातृ कम्पनी मेटाले जारी गरेको प्रतिवेदन अनुसार, ती अकाउन्टहरूले दोहोरो प्रोफाइल बनाएर फेसबुक एल्गोरिदम तथा अडियन्सको संख्याको फाइदा उठाउने प्रयास गरिरहेका थिए। मेटाले यस्तो गतिविधिलाई “स्पामी कन्टेन्ट” को रूपमा परिभाषित गरेको छ।
मेटाले सोसल मिडिया फिडलाई विश्वसनीय, सामयिक, स्वच्छ र प्रामाणिक बनाउनका लागि यस्तो कदम उठाइएको स्पष्ट पारेको छ। पछिल्ला दिनमा एआईद्वारा सिर्जित सामग्रीहरूको प्रभाव तीव्र गतिमा फैलिरहेको सन्दर्भमा मेटाको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ।
यसअघि युट्युबले पनि एआई सिर्जित तथा डुप्लिकेट कन्टेन्टहरूलाई मनिटाइज नगर्ने निर्णय गरिसकेको थियो।
कन्टेन्ट क्रिएटरका नक्कली प्रोफाइल विरुद्ध कडा कारबाही
मेटाका अनुसार, ब्लक गरिएका फेक अकाउन्टहरू विशेषगरी फेसबुक कन्टेन्ट क्रिएटरहरूको नाममा नक्कली प्रोफाइल बनाएर सामग्री पोस्ट गरिरहेका थिए। एल्गोरिदमको फाइदा उठाउँदै झुटा संख्यामा प्रतिक्रिया संकलन गर्ने प्रयास गरिरहेका ती अकाउन्टमाथि फेसबुकले निषेधाज्ञा लगाएको हो।
कम्पनीको विश्वास छ कि यस प्रकारको कडा निगरानीले फेक अकाउन्ट तथा स्पाम गतिविधिमा कमी ल्याउनेछ।
ओरिजिनल सामग्री निर्माणकर्तालाई पुरस्कार
मेटाले हालै नयाँ नीति सार्वजनिक गर्दै असली, सर्जनशील र मौलिक सामग्री निर्माण गर्ने प्रयोगकर्तालाई प्रोत्साहन गर्ने घोषणा गरेको छ। नयाँ नीतिअनुसार, विशेष किसिमका फोटो तथा भिडियो निर्माण गर्ने सर्जकहरूलाई अब कम्पनीले विशेष लाभ र पुरस्कृत गर्नेछ।
यसका लागि मेटाले नक्कली र कपी गरिएका सामग्रीहरूलाई पहिचान गर्ने प्रविधिमा लगानी गर्ने योजना पनि सार्वजनिक गरेको छ।
भविष्यमा एआई र सुपर कम्प्युटिङमा मेटाको ध्यान
मेटाको पछिल्लो प्रयास एआई प्रविधिमा केन्द्रित देखिएको छ। कम्पनीका सिइओ मार्क जुकरबर्गका अनुसार, मेटा निकट भविष्यमा आफ्नो पहिलो एआई सुपर क्लस्टर सुरु गर्ने तयारीमा छ। यसका लागि कम्पनीले ठुलो मात्रामा आर्थिक लगानी गर्नेछ।
जुकरबर्ग भन्छन्, “हाम्रो उद्देश्य एआई र सुपर कम्प्युटिङमा अग्रणी बन्नु हो। यसले मेटालाई शक्तिशाली एआई मोडेल निर्माण गर्न सक्षम बनाउनेछ।”