‘माग्ने राजा’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ ६ गतेदेखि प्रदर्शन

विराटनगर । निर्देशक ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको बहुप्रतीक्षित सिनेमा ‘माग्ने राजा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको प्रज्ञा डबलीमा आयोजित एक भव्य समारोहबीच सिनेमाको पोस्टर सार्वजनिक गर्नुका साथै आगामी भदौ ६ गतेदेखि विश्वव्यापी प्रदर्शन गरिने घोषणा गरिएको हो ।

सार्वजनिक दुई पोस्टरमध्ये एक पोस्टरमा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ लाई राजकीय अवतारमा, कुर्सीमा धनसहित प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा मुख्य कलाकारहरू केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।

आठ वर्षपछि निर्देशनमा कमब्याक गरेका निर्देशक लामिछानेले ‘माग्ने राजा’ युवापुस्तामा देखिएको तत्कालिन राजकियताको मनोवृत्तिको कथा हुने जानकारी गराएका छन् । उनले आफ्नो नयाँ सिनेमाबाट दर्शकलाई हसाउँदै गहिरो सन्देश दिन खोजेको बताएका छन् ।

सिनेमाका निर्माता तथा प्रस्तुतकर्ता मुनाल घिमिरे पनि लामो समयपछि निर्माणमा फर्किएका छन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् । निर्देशक लामिछाने र घिमिरेको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूको ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्–श्रीमती’ सफल रहेका थिए । यसपटक पनि सिनेमाले दर्शकको माया जित्ने दाबी गरिएको छ ।

आरम्भ प्रोडक्सन को ब्यानरमा निर्माण भएको सिनेमामा केदार घिमिरे, वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी तथा टिकटक मोडल पवित्रा साकी (मिस पबी) को अभिनय रहेको छ । त्यस्तै, अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहनेछ ।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ । सिनेमा आरआर फिल्म्स मार्फत वितरण गरिनेछ ।

Add a Comment