दमकमा ग्यास लिक भएर होटेलमा आगलागी, करिब १३ लाख रुपैयाँको क्षति

विराटनगर । दमक नगरपालिका–६ स्थित एक होटेलमा बिहीबार दिउँसो ग्यास लिक भएर आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार दिलमाया लावतीले सञ्चालन गर्दै आएकी ‘सेवारो होटेल’मा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भएको हो। आगलागीपछि सिलिन्डर नै विस्फोट हुँदा आगो फैलिएको थियो।

होटेल स्थानीय सुरेशकुमार थापाको जग्गामा टिनको छानो र टिनकै पाताले बेरेर बनाइएको एकतले कच्ची संरचनामा सञ्चालन हुँदै आएको थियो। आगलागीबाट होटेलमा रहेका लत्ताकपडा, खाद्यान्न, तीनवटा फ्रिज, आठवटा ग्यास सिलिन्डर, दुईवटा इन्भर्टरलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। साथै घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

आगलागीका कारण छिमेकी ज्ञानु रिजालको दुई तले पक्की घरको पछाडिपट्टी रहेका झ्याल र भित्रका केही कपडा पनि जलेर क्षति पुगेको जनाइएको छ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार घटनाबाट मानवीय क्षति भने भएको छैन।