दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गर्ने

विराटनगर । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणातर्फ प्रस्थान गर्ने भएको छ। प्रतियोगिता आगामी साउन १८ गते (अगष्ट ३) देखि २५ गते (अगष्ट १०) सम्म भारतको हरियाणास्थित मोरमाजरामामा आयोजना हुनेछ।

नेपालको टोलीमा १४ खेलाडीसहित १८ सदस्य रहेका छन्। टोलीको कप्तानी मानमति विष्टले गर्नेछिन् भने उपकप्तान जयन्ती बडु रहेकी छन्। अन्य खेलाडीमा मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी छन्।

टोलीका प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा, व्यवस्थापक शरद दर्शनधारी र निर्णायक रमेशचन्द्र ओझा छन्।

खेल प्रारम्भ हुनुअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको तयारी शिविरमा सहभागी हुने छ, जहाँ उनीहरूले स्थानीय ५ वटा क्लबसँग अभ्यास खेल समेत खेल्नेछन्।

एसियाका ४७ राष्ट्रहरूमध्ये नेपाल हाल विश्व वरीयताको तेस्रो स्थानमा रहेको छ। प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन्।

१३ वर्षपछि आयोजना हुन लागेको यस विश्वकपको पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो।

शुक्रबार आयोजित बिदाइ समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले टोलीलाई बिदाइ गरे।

सदस्य–सचिव घिसिङले महिला खेलाडीको प्रदर्शन क्रमशः उत्कृष्ट बन्दै गएको उल्लेख गर्दै दक्षिण एशियामा मात्र सीमित रहेको भन्ने भ्रम चिर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति मजबुत भएको बताए। निर्देशक विष्टले टोलीलाई देशका लागि पदक जित्ने संकल्पसाथ प्रतिस्पर्धा गर्न शुभकामना दिए।

प्रशिक्षक विष्णुदत्त भट्ट र कप्तान मानमति विष्टले ८ महिनादेखिको बन्द प्रशिक्षणका कारण टोली बलियो बनेको बताउँदै विश्वकपमा पदक जित्ने लक्ष्य रहेको बताएका छन्।

Add a Comment