नेपालमा टेलिग्राम एप प्रतिबन्धित, अनलाइन ठगी र मनी लाउन्डरिङको आरोप

विराटनगर । सरकारले टेलिग्राम एपमाथि औपचारिक रूपमा प्रतिबन्ध लगाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोबाइल सेवा प्रदायकलाई टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन दिएको हो।

प्राधिकरणले टेलिग्राम एपको प्रयोगमार्फत अनलाइन ठगी (फ्रड) तथा मनी लाउन्डरिङ जस्ता अवैध गतिविधि बढेको भन्दै यस्तो निर्णय लिएको जनाएको छ। यसअघि सामाजिक सञ्जाल र साइबर अपराधसम्बन्धी विज्ञहरूबाट पनि टेलिग्राममा हुने गोप्य संवाद र सुरक्षित च्यानलहरूको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो।

टेलिग्राम एप नेपाली युवामाझ अत्यन्त लोकप्रिय रहेको छ। यसमार्फत फिल्म, सिरिज, गेम, भिडियो, गीतलगायतका सामग्री आदानप्रदान हुने गरेको थियो। प्रयोगकर्ताहरूका अनुसार यो एप विशेषगरी गोपनीयता र सुविधाजनक ग्रुप च्याट तथा च्यानल सुविधाका कारण चर्चित रहेको थियो।

सरकारको यो निर्णयले एकातर्फ साइबर सुरक्षातर्फ चासो देखाएको संकेत गरेको छ भने अर्कोतर्फ अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सञ्चार माध्यमहरूको प्रयोगमा नियन्त्रणको बहस पनि सुरु भएको छ।

हाल प्रतिबन्ध कार्यान्वयनमा आइसकेको छ वा छैन भन्नेबारे प्राधिकरणको थप सूचना सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Add a Comment