आज साउनको पहिलो सोमबार, पशुपतिनाथको चार वटै ढोका खुल्ला
विराटनगर । साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खोलिएका छन्। वैदिक सनातन हिन्दू धर्मअनुसार विशेष महत्व राख्ने यस दिन भगवान् शिवको पूजाआराधनाका लागि लाखौँ भक्तजनको उपस्थिति रहेको छ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार, दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको छ। सोही अनुसार भक्तजनको सहज दर्शनका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको उनले जानकारी दिए।
साउन महिनाको सोमबार विशेष गरी महिलाले व्रत बसी शिवालयमा गई विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार, साउन सोमबार स्नान गरी शिवको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने मान्यता छ।
कोषका अनुसार, विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँभन्दा कमको टिकट काट्न नपाइने व्यवस्था गरिएको छ। बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको ठूलो भिड देखिएको छ।
भक्तजनहरूको सुविधाका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ, जुन सोमबारबाहेक अन्य दिनहरूमा पनि निरन्तर रहने बताइएको छ। यस्तै, पशुपति क्षेत्रमा भक्तजनको आवागमनलाई सहज बनाउन कोषले यस वर्षदेखि चक्रपथ क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। चार वटा बसले चक्रपथ परिक्रमा गर्दै भक्तजनलाई सेवा दिइरहेका छन्, र यो सेवा साउनका चारै सोमबारसम्म जारी रहने जनाइएको छ।
साउन महिनामा विशेष धार्मिक र सांस्कृतिक महत्व हुने भएकाले पशुपतिनाथ मन्दिरमा यस्ता भीडभाड र पूजाआराधना वार्षिक रूपमा दोहोरिने गरेका छन्।