जनकपुरको होटेलमा युवकको रहस्यमय हत्या, एक युवती पक्राउ

विराटनगर । महोत्तरी गाउँपालिका–१ का ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। यादवको हत्या विवाहेतर सम्बन्धका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार, यादवको शनिबार राति जनकपुरस्थित होटेल ‘एसपी एन्ड गेस्टहाउस’ मा छुरा प्रहार गरी पहिलो तलाबाट खसालेर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ।

सीसीटीभी फुटेजअनुसार, शनिबार राति ९:५० बजे यादव एक युवतीसहित होटेलमा प्रवेश गरेका थिए। तर, करिब पाँच घण्टापछि आइतबार बिहान २:५७ बजे यादव नग्न र रक्ताम्य अवस्थामा पहिलो तलाबाट खसेको देखिन्छ। त्यसको पाँच मिनेटपछि युवती तल झरेर वरपर हेर्दै घटनास्थलबाट भागेको दृश्य समेत फुटेजमा कैद भएको छ।

गम्भीर घाइते अवस्थाका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर आइतबार बिहान पौने ८ बजे उनको मृत्यु भएको थियो।

प्रहरीले हत्या आरोपमा संलग्न रहेको शंका गरिएकी युवतीलाई पक्राउ गरिसकेको छ। हाल उनीमाथि अनुसन्धान भइरहेको छ भने घटनाको विस्तृत विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

Add a Comment