काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा प्रथम मिस्टर महानगर प्रतियोगिता असार ६ र ७ गते
विराटनगर । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को आयोजनामा प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता असार ६ र ७ गते हुँदैछ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा ६ तौल समूहमा प्रतिस्पर्धा गरिनेछ। पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथिको तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने संयोजक ईश्वर श्रेष्ठले जानकारी दिए।
प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल उपाधिका लागि प्रतिस्पर्धामा उत्रनेछन्। ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख रुपैयाँ, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन्।
त्यस्तै, प्रत्येक तौल समूहका विजेतालाई ७५ हजार, उपविजेतालाई ५० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। चौथो र पाँचौं स्थानमा रहनेले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल नाप्ने काम हुनेछ भने असार ७ गते प्रिजजिङ र फाइनल प्रतिस्पर्धा हुनेछ।
पहिलो संस्करणमा पुरुष खेलाडीहरूको मात्र सहभागिता रहनेछ। आगामी संस्करणदेखि महिलाको समेत सहभागिता गराउने योजना रहेको वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले बताए।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान पनि गरिनेछ।