आज देशभर ४३औं बीपी स्मृति दिवस मनाइँदै

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका अगुवा विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै आज देशभर ४३औं स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदैछ।

विसं २०३९ साउन ६ गते निधन भएका कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका थिए। विक्रम संवत् २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा दुई तिहाइ बहुमतका साथ निर्वाचित भई देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले बिर्ता उन्मूलन र “जग्गा जोत्नेको हुनुपर्छ” भन्ने भूमिसुधार नीति कार्यान्वयन गरेका थिए।

कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको हो। उनी केवल राजनीतिमा नभइ नेपाली साहित्यमा समेत अमूल्य योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित छन्। मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदी आइन’, ‘नरेन्द्रदाई’, ‘हिटलर र यहुदी’, ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यास र ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ जस्ता कथा संग्रह प्रकाशित छन्। साथै, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’, ‘आत्मवृत्तान्त’ उनका स्मरणीय कृति हुन्।

विक्रम संवत् २०१७ पुस १ गते शाही सेनाको बलमा जननिर्वाचित सरकार अपदस्त भएपछि कोइराला तथा उनका सहयोगीहरूलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। उनी २०२५ सालमा स्वास्थ्य परीक्षणका बहानामा जेलमुक्त भएपछि भारतमा निर्वासित जीवन बिताउँदै पुनः प्रजातन्त्र स्थापना गर्न संघर्षरत रहे। २०३३ पुस १६ गते आठ ज्यान मुद्दाको पर्वाह नगरी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका कोइरालाको त्यो नीति आज पनि राजनीतिक सन्दर्भमा सान्दर्भिक मानिन्छ।

बीपीको योगदानलाई सम्झँदै २०६१ भदौ २४ गते सुन्दरीजल बन्दीगृहलाई बीपी संग्रहालयका रूपमा उद्घाटन गरिएको थियो। उक्त संग्रहालयमा बीपीको जीवनसँग सम्बन्धित सामग्री, २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्यांकर र २०२९ सालमा अपहरण गरिएको नेपाल वायुसेवा निगमको विमानसमेत प्रदर्शनीमा राखिएको छ। २०७२ सालको विनाशकारी भूकम्पले संग्रहालयलाई क्षति पुर्‍याएपछि हाल पुनःनिर्माण गरिएको छ।

बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भ्रातृ संस्था र बीपी संग्रहालय समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज विशेष कार्यक्रमहरू आयोजना गरिने छन्।

यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ वितरण गरिने कार्यक्रम रहेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिएका छन्।