रौतहटमा १३३ किलो गाँजासहितको कार बरामद, चालक फरार
विराटनगर ।रौतहटको गरुडामा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। गरुडा नगरपालिका–५ स्थित झाँझ खोला नजिक ग३च ६७९६ नम्बरको एक निजी कारबाट १३ पोकामा रहेको १३३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको सो कार इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा प्रहरीको आदेश अवज्ञा गर्दै कार फरार भएको थियो।
प्रहरीले गाडीको पछ्याउँदै गर्दा झाँझ खोला नजिकको झाडीमा गाडी छाडेर चालक फरार भएको डिएसपी राजन कार्कीले जानकारी दिए। सडकभन्दा करिब २० फिट तल खरको घारीमा फेला परेको गाडीलाई क्रेनको सहायताले निकालिएको छ।
गाडीबाट बरामद गरिएको गाँजा नियन्त्रणमा लिइएको छ भने फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
डिएसपी कार्कीका अनुसार गाडीमा सवारी चालक अनुमति पत्र र अन्य कागजातहरू फेला परेको छ, जसको आधारमा फरार चालकको पहिचान तथा अनुसन्धान भइरहेको छ।