टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाली क्रिकेट टोली भारतमा प्रशिक्षणमा

विराटनगर। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली टी–२० विश्वकप २०२६ को एसिया क्षेत्रीय छनोटको तयारीस्वरूप भारतको बेंगलुरुमा प्रशिक्षणमा रहेको छ।

२० जना क्रिकेटर भारतको बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा सोमबारदेखि सुरू भएको प्रशिक्षण क्याम्पमा सहभागी छन्। उक्त क्याम्प आगामी अगस्ट ३ सम्म चल्नेछ।

यसअघि पनि सन् २०२४ को अगस्टमा नेपाली टोलीले यही सेन्टरमा प्रशिक्षण लिएको थियो। भारत सरकार र भारतीय क्रिकेट बोर्डले नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिँदै आएका छन्।

जनवरी २०२४ मा भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली टोली र नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिसँग भेट गर्दै भारतले नेपालमा क्रिकेटको प्रवर्द्धनमा साथ दिने प्रतिबद्धता जनाएका थिए।

टी–२० विश्वकप २०२४ अघि अप्रिलमा नेपालले बरोडा र गुजरात क्रिकेट संघका टोलीहरूसँग त्रिकोणात्मक अभ्यास प्रतियोगिता खेलेको थियो।

त्यस्तै, यू–१९ विश्वकप छनोटको तयारीस्वरूप मार्च २०२५ मा नेपाल र दिल्ली एण्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनबीच नेपालमै अभ्यास खेल आयोजना गर्न भारत सरकारले सहयोग गरेको थियो।

महिला क्रिकेटतर्फ, नेपाली राष्ट्रिय महिला टोलीले मे २०२५ मा थाइल्याण्डमा हुने आईसीसी महिला एसिया विश्वकप छनोटको तयारीस्वरूप अप्रिल–मे महिनामा दिल्लीमा प्रशिक्षण लिएको थियो। उक्त प्रतियोगितामा नेपाल फाइनलसम्म पुगेको थियो।

भर्खरै जुलाई २०२५ मा भारतीय दूतावास काठमाडौंले तीन यू–१९ नेपाली क्रिकेटरलाई भोपालमा एक महिना लामो व्यावसायिक प्रशिक्षणका लागि पठाउने सहयोग गरेको थियो।

भारत सरकारले विगतमा पनि नेपाली क्रिकेटको पूर्वाधार र व्यवस्थापनमा सहयोग गर्दै आएको छ। सन् २०१३ मा क्यानलाई बस प्रदान गरिएको थियो भने, अक्टोबर २०२३ मा भारतीय दूतावासमार्फत नेपाल राष्ट्रिय टोलीलाई व्यावसायिक खेल सामग्री हस्तान्तरण गरिएको थियो।