धनपालथानको समृद्ध इतिहास र संस्कृति उजागर गर्ने पुस्तक सार्वजनिक

विराटनगर।मोरङको दक्षिण सीमावर्ती क्षेत्र धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक पक्ष समेटिएको पुस्तक विराटनगरमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको छ।

२४५ पृष्ठको पुस्तकमा पालिकाको नामाकरणदेखि जातीय बसोबास, धार्मिक स्थलहरूको विवरण र शैक्षिक संस्थाहरूको समग्र अध्ययन समेटिएको छ। प्रकाशन समितिबाट प्रकाशित पुस्तकमा पालिकाका ७ वडाभित्र रहेका ५५ ग्रामथान, ६२ मन्दिर, १५ मस्जिद, ४ चर्च गरी १३६ धार्मिक स्थलहरूको अभिलेख गरिएको छ। साथै, ३२ वटा धार्मिक तथा सामुदायिक विद्यालयसम्बन्धी विवरण पनि समावेश गरिएको छ।

पुस्तक विमोचन गर्दै गाउँपालिका अध्यक्ष जीवछप्रसाद गच्छदारले पुस्तकले स्थानीय जीवनस्तर सुधार र सेवा प्रवाहमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुस्तकलाई नीति निर्माण र योजना तर्जुमा गर्न आधार हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा उपाध्यक्ष नसिमा वानो, प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडा, प्रकाशन समितिका यज्ञ शर्मा, रामलाल सुतिहार, श्यामसुन्दर सुतिहार, उषा सरदारलगायतले ग्रामथान र धनपाल राजाको ऐतिहासिक महत्वबारे धारणा राख्दै पुस्तकले धार्मिक र सांस्कृतिक चेतनामा थप योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।