नेपाली बजारमा सुनको मूल्य तोलामा १,४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा एकैदिन १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। मूल्यवृद्धिसँगै सुनले पुनः नयाँ उचाइ लिएको व्यवसायीहरूले बताएका छन्।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी तोलाको २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा १० रुपैयाँले बढी हो।

हालको सुन र चाँदीको मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव, डलरको भाउ तथा तेलको मूल्यवृद्धिको समेत प्रभाव परेको बताइएको छ। आगामी दिनमा पनि सुन–चाँदीको मूल्यमा उतारचढाव भइरहने अनुमान गरिएको छ।