अगामी तीन दिन देशका साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

विराटनगर । देशका विभिन्न साना तथा ठूला नदीहरूमा अबका तीन दिन पानीको बहाव उल्लेख्य रूपले बढ्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रवार सार्वजनिक गरेको जानकारीअनुसार केही जिल्लामा आकस्मिक बाढीको जोखिम समेत रहनेछ।

विशेषगरी बझाङ, अछाम, सुर्खेत, दैलेख र जाजरकोट जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने जनाइएको छ। ती जिल्लाबाट बहने साना नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, रसुवा, चितवन, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, लमजुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाभित्र पर्ने साना नदीहरूमा पनि पानीको बहाव बढ्ने सम्भावना रहेको छ।

यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘मध्यम’ सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तर, कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलस्तर हालको मापन अनुसार सतर्कता तहभन्दा तल रहेको महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाले वर्षा र बहावको पूर्वानुमानअनुसार सतर्कता अपनाउन, आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न जनतालाई आग्रह गरेको छ।