‘बुलेट’ चाउचाउमा विषाक्त तत्व: उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा, क्वालिटी फुड्सलाई जरिवाना

विराटनगर। क्वालिटी थाई फुड प्रा.लि. द्वारा उत्पादित ‘बुलेट’ ब्रान्डको चाउचाउ विषाक्त तत्व भेटिएपछि उद्योगका गुणस्तर नियन्त्रण प्रबन्धक पुजन कोइरालालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा चाउचाउमा मापदण्डभन्दा धेरै हानिकारक रसायन फेला पारेको हो।

प्रयोगशालाबाट देखियो गम्भीर त्रुटि
नुवाकोटको विदुर नगरपालिका–१ स्थित एसके स्टोर्सबाट संकलित चाउचाउको नमुनामा ‘एक्सट्रयाक्टेड फ्याट एसिड भ्यालु’ ७.५ रहेको पाइएको छ, जुन मापदण्ड १.० भन्दा सात गुणा बढी हो। त्यस्तै, ‘पेरोक्साइड भ्यालु’ ३४.९ भेटिएको छ, जुन तोकिएको १०.० को मापदण्डभन्दा तीन गुणा बढी हो।

खाद्य विज्ञहरूका अनुसार यी तत्वहरू बासी वा कमसल तेलका कारण उत्पन्न हुन्छन्, जसले शरीरमा अक्सिडेटिभ स्ट्रेस बढाउने, क्यान्सर, पाचन प्रणालीमा गम्भीर असर पार्ने, र दीर्घकालीन रोग उत्पन्न गर्ने खतरा राख्छन्।

कानूनी प्रक्रिया र कारबाही
खाद्य निरीक्षण अधिकारी विरेन्द्र कुमार दासको अनुसन्धानपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० (च) अनुसार जिल्ला प्रशासन कार्यालय, मोरङमा मुद्दा दायर गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले दोषीलाई ६ महिनासम्म कैद वा ६ लाख रुपैयाँ जरिवाना वा दुवै सजायको माग गर्न राय दिएको थियो। इजलासले पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।

क्वालिटी समूहका अन्य उत्पादनहरू पनि विवादास्पद
उद्योगका मालिक विपिन काबराको स्वामित्वमा रहेको क्वालिटी समूहका अन्य उत्पादनहरू पनि गुणस्तरहीन भेटिन थालेका छन्। यसअघि पनि क्वालिटी आयल प्रा.लि. द्वारा उत्पादित ‘सूर्यमुखी’ ब्रान्डको तेलमा पनि मापदण्ड नपुगेको पाइएको थियो। हाल उक्त मुद्दा जिल्ला प्रशासन कार्यालय मोरङमा विचाराधीन अवस्थामा छ। काठमाडौँ महानगरपालिकाले यसअघि नै क्वालिटी आयललाई १० लाख रुपैयाँ जरिवाना गरिसकेको छ।

अन्य उद्योगहरू पनि कारबाहीको दायरामा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षमा मात्रै क्वालिटी समूहसहित १० वटा उद्योगहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। तीमध्ये दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स (चिया), सूर्योदय मिल्क एण्ड बेभरेज (दूध), गंगा पेयजल उद्योग (पानी), खेतान चिया उद्योग, गोमती फुड्स, निधि फुड उद्योग र मकालु एक्वा इन्डस्ट्री रहेका छन्।