भारत पुर्याइएका सात नेपाली किशोरीको उद्धार, दुई मानव तस्कर पक्राउ
विराटनगर । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ। उनीहरूलाई भारत लैजाने दुई पुरुषलाई मानव तस्करीको आरोपमा पक्राउ गरिएको छ।
माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार, किशोरीहरूको उद्धार शुक्रबार गरिएको हो। उद्धारपछि सबैलाई भारतको पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने खोरीबारी प्रहरी थानामा राखिएको छ। उद्धार गरिएका सातै जना किशोरी सङ्खुवासभा जिल्लाका बासिन्दा हुन्।
मानव तस्करीमा संलग्न आरोपितमध्ये एक भारत दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का ६१ वर्षीय जपन गुरुङ सङ्खुवासभा मकालु–३ का हुन्।
उनीहरूले किशोरीहरूलाई वैदेशिक रोजगारीका लागि हङकङ लैजाने प्रलोभन देखाई पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै भारतको पानीटङ्की पुर्याएका थिए। भारतीय प्रहरीले उनीहरूलाई सिलिगुढी लैजाँदै गर्दा नक्कली कागजातसहित पक्राउ गरेको बताइएको छ।
माइती नेपालको टोली पनि किशोरीहरूलाई नेपाल फर्काउन शुक्रबार नै पानीटङ्की पुगेको थियो। तर, कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै भारतीय प्रहरीले किशोरीहरूलाई तत्काल नेपाल नफर्काइ खोरीबारी थानामै राखेको संयोजक घिमिरेले जानकारी दिए।
उक्त घटनाबारे भने नेपाल पक्षलाई भारतीय प्रहरीले आधिकारिक जानकारी नगराएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।