शनिबार छुट्टी हैन श्रम: मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘क्लिनिङ’ र ‘ब्युटिफिकेसन’ अभियान

विराटनगर। कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबारको छुट्टीको दिन पनि विश्राम हुँदैन। यहाँका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरूले हरेक शनिबार बिहान विश्वविद्यालयको सरसफाइ तथा सौंदर्यीकरणमा श्रमदान गर्ने संस्कारको विकास गरेका छन्।

विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदीका अनुसार प्रत्येक शुक्रबार अपराह्न उनी उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन्। भोलिपल्टको श्रमदान कहाँ गर्ने, को-को सहभागी हुने भन्ने सहमति लिएपछि उनले सो जानकारी ‘वाट्सएप’मार्फत सम्पूर्ण पदाधिकारी, विभागीय प्रमुख, कर्मचारी, होस्टल वार्डन र सुरक्षा इन्चार्जलाई पठाउने गर्छिन्।

शनिबार बिहानै उपकुलपति, रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रक, विभागीय प्रमुख, शिक्षक, प्रशासन प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरूसम्म हातमा हँसिया, फरुवा, कुटो, खन्ती र दाँते बोकेर तोकिएको स्थानमा पुग्ने गर्छन्। त्यहाँ उनीहरू सामूहिक रूपमा सरसफाइ र सौंदर्यीकरणमा जुट्छन्।

बुढीगंगा–४ स्थित केन्द्रिय कार्यालय परिसरमा हरेक शनिबार यस्तै अनौठो तर प्रेरणादायी दृश्य देख्न सकिन्छ। ‘मर्निङ वाक’को सट्टा विश्वविद्यालय क्लिनिङ र ब्यूटिफिकेसन अभियानमा सामेल हुने अभ्यासले विश्वविद्यालय परिवारमा ऊर्जा, आपसी सहयोग र अपनत्वको भावना झनै बलियो बनाएको छ।

स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राई भन्छन्, “सामूहिक श्रमदानले शरीर चलायमान हुन्छ, सहयोगी भावना बढ्छ र आफनो विश्वविद्यालयप्रति माया पनि बढ्दो रहेछ।”

उनीहरू हरेक हप्ता फरक–फरक स्थान जस्तै उपकुलपति कार्यालय, इन्जिनियरिङ स्कुल, एप्लाइड साइन्स एन्ड टेक्नोलोजी स्कुल, कर्मचारी निवास, छात्रावास वरपर सरसफाइ गर्दै वृक्षारोपण र फूलबारीको गोडमेल पनि गर्छन्।

उपकुलपति कार्यालयका वरिष्ठ लेखा अधिकृत सुजन भुर्तेल भन्छन्, “आफ्नो कार्यस्थल र बसोबासको ठाउँ आफैँले सफा गर्दा माया र अपनत्व झनै बढ्ने रहेछ।”

विश्वविद्यालयले श्रमदानका लागि आवश्यक उपकरण, फूल, फल तथा रुखका विरुवाहरू उपलब्ध गराउने गरेको छ। सहभागीहरूलाई चिया, बिस्कुट र पानी पनि प्रदान गरिन्छ।

उपकुलपति डा. सुवासश्री पोखरेल भन्छन्, “हामी प्राविधिक विश्वविद्यालय भएर हैन, गरेर देखाउने संस्था हौं। आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने सोचले यो अभ्यास सुरु गरेका हौं।”

यो अभ्यासले विश्वविद्यालय समुदायमा अनुशासन, स्वच्छता र समर्पणको संस्कृति विकास गर्दै गएको देखिन्छ।

Add a Comment