प्रधानमन्त्री सुशीला कार्की : “फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक”
बिराटनगर। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी र सरकारका कामकारवाहीबारे छलफल गर्दै उनले निर्वाचनलाई सफल बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक वातावरण सिर्जना गर्न अधिकतम प्रयास गरिरहेको छ। “क्रमशः वातावरण सकारात्मक बन्दै गएको छ र यसबीचमा विभिन्न राजनीतिक दलबीच सहमति तथा छलफल पनि भइरहेको छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सबै दल र पक्षलाई विश्वासमा लिएर निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मनसाय आफू र सरकारको रहेको स्पष्ट पारिन्। उनले भनिन्, “सुशासन कायम गर्नु र निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख उद्देश्य हो। राजनीतिक दललाई निषेध होइन, उत्साहपूर्वक सहभागिता गराएर फागुन २१ को निर्वाचन सम्पन्न गर्नेछौं।”
आफूले असहज परिस्थितिमा सरकारको नेतृत्व लिए पनि दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउँदै कार्कीले आलोचनाबाट नडराई आफ्नो काम निरन्तर अघि बढाउने बताइन्।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।
