अविरल वर्षाले पहिरो, देशका विभिन्न सडकखण्ड पूर्णरूपमा अवरुद्ध
विराटनगर। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख सडकखण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र रुख ढल्दा यात्रु तथा सवारीसाधन सञ्चालनमा अवरोध पुगेको छ।
बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–१ सुंगाला र बालुवाटार क्षेत्रमा राति परेको वर्षाका कारण सोमबार बिहान साढे ५ बजे सडक माथिबाट आएको पहिरोले जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, दाङ हुँदै सल्यान र सुर्खेत जोड्ने सडकखण्डसमेत पूर्णरूपमा अवरुद्ध भएको छ। बिहान साढे ६ बजे सल्यानको कालिमाटी गाउँपालिका–३ ढोरेनीमा सडकमाथिबाट रुख ढल्दा यातायात ठप्प भएको प्रहरीले जानकारी दिएको छ।
गुल्मीमा कालीगण्डकी करिडोरसहित तीन सडक पूर्णरूपमा बन्द
गुल्मी जिल्लामा पर्ने कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडकखण्डहरू पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे, वडा नं. २ को मिल्क, र वडा नं. ३ स्थित कनौटामा चट्टानसहितको ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
रिडी–तम्घास सडक रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा खसेको पहिरोले पूर्ण अवरोध सिर्जना गरेको छ।
त्यस्तै, रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोला र वडा नं–५ बादरेभीरमा बाढी तथा पहिरोले बाटो अवरुद्ध भएको छ।
प्रहरीका अनुसार अविरल वर्षा कायमै रहेकाले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको छ। प्रशासन र प्रहरीले ती क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई अत्यधिक सावधानी अपनाउन, पहिरोप्रवण क्षेत्रबाट टाढा रहन र आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।