बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ आवेदन दिने आज अन्तिम दिन

विराटनगर। बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो।

कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजनाबाट प्रभावित बासिन्दाहरूका लागि कुल ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको हो। इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ५ लाख २९ हजार ४ सय कित्ता शेयरको आवेदन साउन ९ गते नै बन्द भइसकेको छ।

नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको कम्पनीले, पहिलो चरणमा प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर वितरण गरेपछि अब दोस्रो चरणमा ५२ लाख ९४ हजार कित्ता शेयर आम सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरिरहेको छ।

यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।