विराटनगरमा चौथौं संस्करणको ‘Biratnagar Music Festival–2082’, स्मृति बेन्डलाई विशेष सम्मान
विराटनगर । विराटनगरस्थित Live Entertainment द्वारा आयोजना गर्न लागिएको ‘Biratnagar Music Festival–2082’ यही असोज ३१ गते बेलुकी ४ बजे, शुक्रबार विराटनगर मेनरोडस्थित जैन भवनको खुला मैदानमा भव्य रूपमा आयोजना गरिने भएको छ।
नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुँदै आएको यो संगीत महोत्सवले यस वर्ष पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव र एकता सुदृढ गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, यस पटकको तयारी अन्तिम चरणमा पुगेको र सम्पूर्ण व्यवस्थापन पूरा भएको छ। चौथौं संस्करणको मुख्य आकर्षणको रूपमा राष्ट्रिय कलाकार तथा चर्चित युवा ब्याण्ड Swar Purna Rai and Dajubhaiharu ले प्रस्तुति दिनेछन्।
त्यसैगरी, विराटनगरकै ख्यातिप्राप्त The Smriti Band ले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विशेष प्रस्तुति दिनेछ।
कार्यक्रममा Subham and The Band को सांगितिक प्रस्तुति र स्थानीय डान्स क्लबहरूको नृत्य प्रस्तुति समेत रहनेछ।
दर्शकलाई थप आकर्षक बनाउन Food Stall, Sponsor Stall र स्थानीय परिकारहरूको स्वाद उपलब्ध हुने व्यवस्था गरिएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको DB Technology साउण्ड सिस्टम, अत्याधुनिक Light, Stage र Screen प्रयोग गरिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आवश्यक अनुमति लिइसकिएको छ। शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, स्थानीय सुरक्षा गार्ड तथा स्वयंसेवक टोली परिचालन गरिनेछ। कार्यक्रमको अनुमानित लागत करीब २० लाख रुपैयाँ रहेको र त्यसको व्यवस्थापन विज्ञापनदाता कम्पनी, सहयोगी संघसंस्था र व्यक्तिगत सहयोगबाट गरिनेछ।
नेपालको पुरानो र प्रख्यात ब्यान्ड The Smriti Band ले यस वर्ष आफ्नो २५ वर्षे संगीत यात्रा पूरा गरेको अवसरमा, सोही कार्यक्रममा विशेष सम्मान गरिने भएको छ।
आयोजक सन्तोष महत का अनुसार, स्मृति बेन्डले विराटनगरलाई संगीतको माध्यमबाट देश–विदेशमा चिनाउने काम गर्दै आएको र निकट भविष्यमा नयाँ परियोजनासहित पुनः सक्रिय हुने तयारीमा रहेको जानकारी दिएका छन्।