उत्तराखण्ड बाढीपहिरोमा धादिङका चार नेपाली समेत सम्पर्कविहीन, बेपत्ताको संख्या २२ पुग्यो
विराटनगर । भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा परी धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली समेत सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ मजदुरीका लागि उत्तराखण्ड गएका थिए। उनीहरू परिवारसँग सम्पर्कविहीन भएपछि भारतीय दूतावासमार्फत खोजीको पहल गरिएको उनले बताए।
साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। त्यहाँ अहिले पनि उद्धार र खोजी कार्य जारी छ।
यसअघि जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्कविहीन भएको पुष्टि भइसकेको छ। धादिङका चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ।
स्थानीय पालिकाले बेपत्ता भएको सूचनालाई आधार मानेर खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग समन्वय गर्न आग्रह गरेका छन्।