सर्लाहीमा स्कुल बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु

विराटनगर । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। मृतक धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेख रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार, बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको स्कुल बसको ढोकाबाट लडेर फैजान गम्भीर घाइते भएका थिए। कक्षा ३ मा अध्ययनरत उनी बसको ढोकामा उभिएको अवस्थामा खसेका थिए।

घाइते अवस्थामै उनलाई बरहथवाको संकटमोचन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज पठाइएको थियो। उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।